कोशी लगानी सम्मेलनमा १ खर्ब ५२ अर्बको परियोजना सम्झौता, ४६ सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ।कोशी प्रदेश सरकारले आयोजना गरेको ‘कोशी प्रदेश लगानी सम्मेलन–२०२५’ को समापन समारोहमा कुल १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरका ४६ वटा परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ। प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र विभिन्न निजी तथा सार्वजनिक–निजी साझेदार कम्पनीबीच सम्झौतामा हस्ताक्षर भएको हो। कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधि, पर्यटन र फोहर व्यवस्थापन सम्बन्धी परियोजनाहरू समेटिएका छन्।

सम्मेलनमा ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाको परियोजनामा पनि सम्झौता भएको छ, जसको कुल लागत २६ अर्ब रुपैयाँ रहेको छ। काठमाडौं विश्वविद्यालयको प्राविधिक सहयोगमा अघि बढाइने यो कारखाना उदयपुर र सुनसरीको सीमाक्षेत्रमा स्थापना गरिनेछ। परियोजना डीपीआर तयारीपछि तीन वर्षभित्र कार्यान्वयनमा ल्याइने र यसले कृषि, ऊर्जा तथा औद्योगिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।