एनसेललाई आईसीटी क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने करदाताकाे सम्मान

काठमाडौँ।नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा सबैभन्दा धेरै आयकर तिर्ने करदाताकाे रूपमा एनसेललाई सम्मान गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ काे विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरिएको हो। सम्मानपत्रमा गत आर्थिक वर्ष २०८०/८१ मा आईसीटी क्षेत्रबाट सबैभन्दा धेरै कर तिरेको विशिष्ट योगदानका लागि एनसेललाई कदर गरिएको उल्लेख छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले सरकारबाट प्राप्त सम्मानले कम्पनीलाई अझ प्रेरित बनाएको बताए। उनले एनसेलले स्थापना कालदेखि हालसम्म ३ खर्ब ४० अर्बभन्दा बढी कर तथा शुल्क बुझाइसकेको र गत आ.व. २० अर्ब ३० करोड बराबरको कर तिरेको जानकारी दिए। एनसेलले सीएसआर कार्यक्रममार्फत २ अर्ब रुपैयाँभन्दा बढीको लगानी गर्दै सातै प्रदेशका १ करोड ३० लाखभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष वा परोक्ष रूपमा लाभ पुर्याएको पनि कम्पनीले जनाएको छ।