
काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ७०.८१ प्रतिशतले घटेको छ।
यस अवधिमा कम्पनीले ५ करोड ७९ लाख मात्रै खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १९ करोड ८३ थियो।यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ५८.८२ प्रतिशतले बढेर १ अर्ब १ करोड पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी पनि ८० करोड ३९ लाखबाट बढेर १ अर्ब १४ करोड पुगेको छ।
खुद ब्याज आम्दानी बढ्दा र कुल संचालन आम्दानी बढ्दा पनि कम्पनीको नाफा भने घटेको हो । कम्पनी सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम १५ करोड ७० लाखबाट बढेर ३२ करोड ९६ लाख पुगेकोले कम्पनीको खुद नाफा घटेको देखिन्छ ।
यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा पनि ऋणात्मक ११ करोड ७१ लाख रुपैयाँ रहेको छ। १ अर्ब ३९ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १ अर्ब ४१ करोड रहेको छ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ ५२ पैसा पुगेको छ भने प्रति शेयर नेटवर्थ १९२.६६ रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा भने ८.८३ प्रतिशतबाट बढेर १४.८१ प्रतिशत पुगेको छ।