सान्भि इनर्जीको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

काठमाडौँ ।सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिन आज, वैशाख १९ गते, अन्तिम दिन हो। कम्पनीले वैशाख ५ गतेदेखि इलाम जिल्लाका प्रभावित स्थानीय क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओका लागि आवेदन खुला गरेको थियो।

इलाम जिल्लाका विभिन्न पालिकाका तोकिएका वडाका बासिन्दाका लागि ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरिएको छ। उनीहरूले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यसैगरी, वैदेशिक रोजगार स्वीकृति प्राप्त नेपालीहरूका लागि २ लाख ९१ हजार कित्ता शेयर छुट्याइएको छ। यो समूहका लागि पनि न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डले चैत्र ११ गते सान्भि इनर्जीलाई कुल ३७ लाख ९० हजार कित्ता शेयर, जसको मूल्य ३७ करोड ९० लाख रुपैयाँ बराबर पर्छ, निष्काशन गर्न अनुमति दिएको हो। यसमध्ये केही सर्वसाधारणका लागि पछि खुला गरिने छ। शेयर बिक्री प्रबन्धकको रूपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। सान्भि इनर्जी लिमिटेडले इलाममा अवस्थित ७.६ मेगावाट क्षमताको जोगमाइ खोला आयोजना मार्फत २०७४ सालदेखि विद्युत उत्पादन गरिरहेको छ। साथै, ५.२ मेगावाट क्षमताको जोगमाई क्यासकेड आयोजना पनि निर्माणको चरणमा रहेको छ।

कम्पनीको अध्यक्ष अनुप आचार्य हुन्। अन्य संचालकहरूमा भानुभक्त पोखरेल, दिपक बराल, हरिबाबु न्यौपाने, श्रियान पोखरेल, बन्दना पोखरेल, र नारायण प्रसाद पौडेल रहेका छन्।