सरकारको  नीति तथा कार्यक्रम आज संसद्मा प्रस्तुत हुँदै

काठमाडौँ ।आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम आज शुक्रबार प्रस्तुत हुँदैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

सङ्घीय संसद् सचिवालयले नीति तथा कार्यक्रम प्रस्तुति सम्बन्धी सम्पूर्ण तयारी पूरा गरिसकेको जानकारी दिएको छ। संयुक्त बैठकमा सांसदहरूका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सरकारका उच्च अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, र निजी क्षेत्रका प्रतिनिधिहरूलाई समेत आमन्त्रण गरिएको छ।

राष्ट्रपतिको सवारी व्यवस्थापनका लागि आज बिहान रिहर्सल गरिएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्। नीति तथा कार्यक्रम प्रस्तुतिपछि दुवै सदनका छुट्टाछुट्टै बैठक बस्नेछन्, जसमा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने र सम्बोधनको प्रति टेबुल गरिने कार्यसूची रहेको उनले बताए।