नेप्से लगातार तेस्रो दिन घट्दा पनि कारोबार रकम उकालो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक ८.१४ अंक घटेर २६२३.८३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७ अर्ब ५७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ७९ हजार ७७७ पटकको कारोबारमा ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार रुपैयाँबराबरको २ करोड ४६ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाकाे शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेकाे छ भने सिनर्जी पावर डेभलपमेन्टको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने रिडी पावर कम्पनीको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड ४ लाख २४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब ५३ करोडको शेयर कारोबार भएको छ भने सानिमा माई हाइड्रोपावरको करिब ५१ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन बढेकाे उपसमूहरूकाे वृद्धिदर १ प्रतिशतभन्दा कम रहेकाे छ। यस दिन वित्त उपसमूहकाे परिसूचक सर्वाधिक १.२४ प्रतिशत घटेकाे छ। त्यस्तै, यस दिन विकास बैंक र अन्य उपसमूहकाे परिसूचक १ प्रतिशतभन्दा बढी घटेकाे छ।