
काठमाडौँ ।अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ११ जिल्लाका २१ जनालाई पक्राउ गरेको छ। सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार, पक्राउ परेकाहरुले डिजिटल वालेटमार्फत करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी गैरकानुनी कारोबार गरेका छन्। आन्तरिक विप्रेषण बन्द भएको समयमा विदेशबाट प्राप्त हुने विप्रेषण रकममा अवरोध गर्दै, नेपालमा भन्सार छली, चोरी पैठारी, सुनको अवैध कारोबार तथा कर छली जस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको अवैध रकम ट्रान्सफर गरिएको पुष्टि भएको छ।
पक्राउ परेका व्यक्तिहरुमा मोरङ, महोत्तरी, सप्तरी, सर्लाही, धनुषा, पर्सा, नवलपरासी, वीरगञ्ज र चितवनका नागरिकहरु छन्। उनीहरूले "सजिलो पे" र "पेवेल नेपाल प्रा.लि." जस्ता डिजिटल वालेट कम्पनीको नाममा नेपालका विभिन्न बैंक खातामा अवैध रकम जम्मा गरी, मनी ट्रान्सफर कम्पनीहरूमार्फत विदेशी विप्रेषणको रुपमा हिसाब मिलान गरेका थिए। पक्राउ पर्नेहरुमध्ये मोरङका वीरेन्द्र साह र दीपेन्द्र शाह, महोत्तरीका श्रवणकुमार शाह, सप्तरीका तारालाल यादव लगायत छन्।
सिआइबीका अनुसार, यी व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले जारी गरेका आदेश र निर्देशनको उल्लंघन गरेका कारण उनीहरूमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम अनुसन्धान सुरु गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट देखिएअनुसार, विदेशी विप्रेषणको नाममा अवैध कारोबारको रकमलाई डिजिटल वालेटमार्फत नगद राखेर र ई–मनी बनाई फर्जी रुपमा आफन्तहरुको खातामा ट्रान्सफर गरिएको हो। अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।