आजदेखि सान्भि इनर्जी लिमिटेडको आईपीओ जारी: स्थानीय र वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि अवसर

काठमाडौँ। सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बैशाख ५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित इलाम जिल्लाका विभिन्न पालिकाका तोकिएका वडाका स्थायी बासिन्दाका लागि निष्काशन गर्न लागेको हो। आवेदन न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि निष्काशन अवधि छिटोमा बैशाख १९ गते र ढिलोमा जेठ ३ गतेसम्म हुनेछ। यसबाहेक, वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि पनि २ लाख ९१ हजार कित्ता शेयर छुट्याइएको छ, जसमा बैशाख १९ गतेभित्र आवेदन दिन सकिनेछ।

कम्पनीले प्रबर्धन गरिरहेको ७.६ मेगावाटको जोगमाई खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ, जसको साधारण लगानी फिर्ता हुने अवधि ५.५३ वर्ष र डिस्काउण्टमा ८.२९ वर्ष रहेको छ। यस्तै, निर्माणाधीन ५.२ मेगावाटको जोगमाई क्यासकेड आयोजना पनि कम्पनीको अर्को महत्वाकांक्षी योजना हो, जसको लागत १ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। सान्भि इनर्जीलाई केयर रेटिङ्स नेपालले 'CARE-NP BB+ (Is)' रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको औषत वित्तीय जोखिम संकेत गर्दछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले तोकिएको संकलन केन्द्रबाट भौतिक रूपमा आवेदन दिन सक्ने छन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले 'मेरो शेयर' प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।