नयाँ वर्षमा निराशालाई परास्त गर्दै समृद्धिको बाटोमा अघि बढ्न प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै निराशा फैलाएर मुलुकलाई गलत दिशामा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताएका छन्। उनले युवाहरूलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने सरकारको नीति उल्लेख गर्दै राष्ट्र निर्माणमा उनीहरूको सक्रिय सहभागिता आवश्यक भएको बताए।

जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता देशको साझा सम्पत्ति भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एकता, सद्भाव र सहिष्णुताको आधारमा मात्रै देश अगाडि बढ्न सक्ने विश्वास व्यक्त गरे। उनले लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई अँगाल्दै वातावरणीय संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताए। नयाँ वर्षले नेपाली जनताको जीवनमा शान्ति, समृद्धि, प्रगति र सन्तोष ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दै सबैमा आशा, उत्साह र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरे।