
काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको रूपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आज सूचना प्रकाशित गर्दै वाणिज्य बैंकहरूमा ७७ करोड ६० लाख, राष्ट्रिय स्तरका विकास बैंकमा १४ करोड ५५ लाख र वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ एक वर्ष अवधिको मुद्दती निक्षेपमा राख्ने जानकारी दिएको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आगामी बैशाख ३ गते साँझ ७ बजेभित्र आवेदन दिनुपर्नेछ।
रकम निक्षेपमा लिन चाहने संस्थाले कम्तीमा दुई वर्ष सञ्चालनमा आएको, राष्ट्र बैंकद्वारा तोकिएको न्यूनतम कुल पूँजीकोष कायम गरेको, तथा निष्क्रिय कर्जा र तरलता सम्बन्धी मापदण्डहरू पूरा गरेको हुनुपर्नेछ। साथै, कर्जारनिक्षेप अनुपात सीमाभित्र भएको र अघिल्लो आर्थिक वर्षको हिसाबले खुद मुनाफामा रहेको हुनुपर्ने शर्तहरू समेत लागू हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।