
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूलाई आन्दोलनमा बसिरहनु आवश्यक नभएको बताएका छन्। नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको जागरणसभामा बोल्दै उनले वर्तमान सरकार सबै क्षेत्र र समुदायका समस्या सुन्ने र समाधान गर्न तयार रहेको बताए।
समस्याहरू भए पनि त्यसको समाधान सडकमा गइ समाधान खोज्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शिक्षा ऐन चाँडै आउने आश्वासन दिए। उनले शिक्षकहरूले राष्ट्रको हित र आर्थिक अवस्थालाई समेत विचार गर्नुपर्नेमा जोड दिए। अर्को प्रसङ्गमा उनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा आफूले यकिन गरेर स्वीकृत गरेको स्पष्ट गर्दै उपकुलपतिसँग कुनै भिडन्त नभएको बताए।