निःशुल्क स्वास्थ्य सेवा अब सबैको जानकारीमा,  स्वास्थ्य मन्त्रालयद्वारा विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क रुपमा पाउने स्वास्थ्य सेवाको विस्तृत विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले सेवा प्रकार, लक्षित समूह, सेवा प्राप्त गर्ने स्थान, आवश्यक कागजातलगायत जानकारी नयाँ डिजाइन गरिएको आफ्नै वेबसाइटमार्फत उपलब्ध गराएको हो।

मन्त्रालयका अनुसार मृगौला, मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र जलन उपचार सेवाअन्तर्गत विभिन्न उमेर समूहका बिरामीलाई निःशुल्क सेवा दिइँदै आएको छ। ती सेवाका लागि आवश्यक कागजात र सेवा केन्द्रसम्बन्धी विवरणसमेत समावेश गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निःशुल्क सेवा पारदर्शी बनाउँदै सबै नागरिकले सहज रूपमा जानकारी प्राप्त गर्न सकून् भन्ने उद्देश्यले विवरण सार्वजनिक गरिएको बताए। “नागरिकले प्राप्त गर्ने सेवा सबैको पहुँचमा होस् भन्ने हाम्रो चाहना हो,” मन्त्री पौडेलले भने, “सूचना अभावका कारण कोही पनि सेवाबाट वञ्चित नहोस् भनेर यस्तो व्यवस्था मिलाइएको हो।”

यसअघि मन्त्री पौडेलले संघीय अस्पताल तथा मेडिकल कलेजहरूलाई सेवा शुल्कसम्बन्धी विवरण वेबसाइट र अस्पताल परिसरमा देखिने गरी राख्न निर्देशन दिएका थिए। अधिकांश संस्थाले उक्त निर्देशन अनुसार विवरण सार्वजनिक गरिसकेका छन्। मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामार्फत प्रदान गरिने आधारभूत स्वास्थ्य सेवा नागरिकलाई निःशुल्क रूपमा उपलब्ध हुँदै आएको छ।