
काठमाडौं । गत असोजमा अविरल वर्षाका कारण देशभरि बाढी र पहिरोले पुर्याएको क्षतिपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६० करोड ३२ लाख रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरिसकेको छ। सामान्यतया घर, गाडी, पसल र पूर्वाधार निर्माणजस्ता क्षेत्रहरूमा ठुलो क्षति पुगेको थियो। सो घटनापछि कम्पनीमा कुल २ अर्ब ८९ करोड ९६ लाख ३९ हजार रुपैयाँ बराबरको ५८२ वटा बीमा दाबी दर्ता भएका थिए।
कम्पनीका अनुसार अहिलेसम्म ६० करोड ३२ लाख ३९ हजार रुपैयाँ बीमा भुक्तानी दिइसकेको छ, जसमा २९ करोड ९७ लाख रुपैयाँ अग्रिम रूपमा उपलब्ध गराइएको हो। सम्पत्ति बीमातर्फ सबैभन्दा धेरै दाबी परेको छ। २ अर्ब २७ करोड २१ लाख ४० हजार रुपैयाँ बराबरको दाबीमा कम्पनीले ४० करोड ९३ लाख ६१ हजार रुपैयाँ भुक्तानी दिएको छ, तर अझै १ अर्ब ५५ करोड ९० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको उल्लेख गरिएको छ।
मोटर बीमा अन्तर्गत १९५ वटा दाबीमा ८ करोड ६० हजार रुपैयाँ बराबरको दाबी गरिएको थियो, जसमा ५ करोड २१ लाख रुपैयाँ भुक्तानी गरिएको छ। इन्जिनियरिङ्ग तथा ठेक्का बीमातर्फ २५ वटा दाबीमा ३७ करोड ८२ लाख रुपैयाँ बराबरको दाबी परेका छन्। सो मध्ये ६ करोड ८८ लाख ५३ हजार रुपैयाँ भुक्तानी दिइएको छ भने २७ करोड ६७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।
सामुन्द्री बीमामा पनि ३० लाख रुपैयाँ बराबरको दाबी परेका छन् तर कम्पनीले हालसम्म ५ लाख १ हजार रुपैयाँ मात्र भुक्तानी दिएको छ।