
काठमाडौं। उच्चस्तरीय आर्थिक सुधार आयोगले अर्थतन्त्र सुधारका समग्र पक्ष समेटेर तयार पारेको प्रतिवेदन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई बुझाएका छन्।उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनालले बुझाएको प्रतिवेदनमा समग्र अर्थतन्त्रको सुधारका लागि नीतिगत तथा संरचनागत सुधारका विषय समेटिएका छन्।
प्रतिवेदनमा अर्थतन्त्रको विकास गर्न पाँच क्षेत्र सुधार गर्नुपर्ने उल्लेख गरिएको छ।आयोगले तत्काल विद्यमान आर्थिक शिथिलता अन्त्य गरी अर्थतन्त्रलाई गतिशीलता दिने, आर्थिक अवसर सिर्जना गर्ने, विश्वासमा आधारित प्रणाली निर्माण गर्ने, उपलब्ध प्राकृतिक स्रोतको दिगो तथा सर्वोत्तम उपयोग गर्ने, सीमारहित अर्थतन्त्र निर्माण गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै आर्थिक वृद्धि दर बढाउने सुधारका प्रस्ताव गरेको छ।
सात महिना लगाएर तयार पारिएको प्रतिवेदनमा विभिन्न २६ वटा क्षेत्र समेटिएका छन्। आयोगले विभिन्न चरणमा ६० वटा अन्तरक्रिया गर्दै, नेपालभित्र तथा बाहिर रहेका विज्ञ तथा सरोकारवालाबाट सुझाव संकलन गरेको थियो।