राजनीतिक स्थायित्वविना आर्थिक सुधार सम्भव छैन : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक सुधारको पूर्वशर्त राजनीतिक स्थायित्व भएको बताएका छन्। महासंघको ५९औँ वार्षिक साधारणसभामा स्वागत मन्तव्य दिंदै उनले अहिलेको आर्थिक अवस्था चुनौतीपूर्ण भए पनि सुधार असम्भव नभएको उल्लेख गरे। २०७३ देखि ७५ सम्म राजनीतिक स्थायित्व र स्पष्ट सन्देशका कारण देशले तीन वर्ष लगातार औसत ७.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको उदाहरण दिँदै उनले राजनीतिक दलहरूबीच आर्थिक विषयमा साझा धारणा आवश्यक रहेको बताए।

ढकालले निजी क्षेत्रले वार्षिक १६ खर्ब रुपैयाँको पुँजी निर्माण गर्न सक्ने क्षमता रहेको र सरकारबाट मात्र चार खर्बको लगानीले पर्याप्त हुने धारणा राखे। उनले विगतका ठूला संकटहरू आन्तरिक द्वन्द्व, भूकम्प, महामारीको सफल व्यवस्थापन उदाहरण दिँदै हालको आर्थिक समस्या पनि समाधान गर्न सकिने विश्वास व्यक्त गरे। अर्थतन्त्रलाई सबैभन्दा माथि राख्नुपर्ने र कुनै पनि वादबाट त्यसलाई असर पुर्‍याउन नहुने भन्दै उनले व्यवसायीहरूलाई निर्बाध रूपमा काम गर्न दिनुपर्नेमा जोड दिए।