ढकालको जोड: समृद्धिको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्ध नेपाल निर्माणमा निजी क्षेत्रले नेतृत्व लिनुपर्ने बताएका छन्। महासंघको ५९औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस–२०८१ को उद्घाटन कार्यक्रममा बोल्दै उनले आर्थिक विकासका लागि निजी क्षेत्रलाई निर्बाध रूपमा काम गर्न दिने वातावरण आवश्यक रहेको बताए। अर्थतन्त्र, विकास र समृद्धिमा सबै राजनीतिक दलबीच साझा धारणा बनाउनुपर्नेमा पनि उनले जोड दिए।

अध्यक्ष ढकालले विगतमा सरकारका अत्यधिक सतर्क नीतिका कारण बजार संकुचित भएको र अझै पूर्णरूपमा चलायमान हुन नसकेको धारणा राखे। उनले लगानी, श्रम र सीपको प्रवाहमार्फत उत्पादन बढाउने खालका नीतिहरू ल्याउनुपर्ने बताए। नेपालभित्र मर्यादित रोजगारी सिर्जना गर्न सके मात्र युवा निराशा अन्त्य हुने उल्लेख गर्दै उनले अहिलेको सुधार पर्याप्त नभएको जनाए। भारत, चीन र युएईमा सहभागी सम्मेलनबाट नेपालमा विदेशी लगानीको सम्भावना देखिएको बताउँदै उनले त्यसका लागि सार्थक प्रयास आवश्यक भएको बताए।

ढकालले नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरी साना पुँजीलाई एकत्रित गर्दै ठूला आयोजनामा लगानीका अवसरहरू खोलिएको जानकारी दिए। हालैका नीतिगत सुधार र उच्चस्तरीय आयोग गठन, कानुनी संशोधन, लगानी सम्झौताका पहल, तथा अनलाइन प्रक्रियाले सकारात्मक संकेत दिएको भन्दै उनले चालु आर्थिक वर्षको नीति तथा बजेटलाई सुधारको सुरुवात बिन्दु बनाउनुपर्नेमा जोड दिए। तर, देशको ८६ प्रतिशत रोजगारी सिर्जना गर्ने निजी क्षेत्र अझै पनि पर्याप्त सम्मानित नभएको भन्दै उनले राज्यसँग सद्भाव मात्र माग गरे।