
काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४३ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८१ साउन देखि २०८१ फागुनसम्मको अवधिमा कुल ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
जस मध्ये नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ७८ करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले ४ अर्ब ७२ करोड, तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ८ करोड खुद नाफा कमाएको छ।
यस अवधिमा कृषि विकास बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ७३ करोड ८० लाख रहेको छ। त्यस्तै एनआईसी एशिया बैंकले ८१ करोड ९९ लाख खुद नाफा कमाउँदा कुमारी बैंकले ९६ करोड ९१ लाख खुद नाफा कमाएका छन् ।
आर्थिक वर्ष २०८० फागुन र २०८१ फागुनको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा नेपाल बैंकको खुद नाफा सर्वाधिक १३२.९० प्रतिशतले बढेको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ४५.६८ प्रतिशत तथा एनएमबि बैंकको खुद नाफा ४१.११ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०८० फागुन र २०८१ फागुनको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा ९ वटा बैंकको खुद नाफा घटेको छ। जस मध्ये एनआईसी एशिया बैंकको खुद नाफा ६७.७५ प्रतिशत घटेको छ भने कृषि विकास बैंकको खुद नाफा ६२.६६ प्रतिशत घटेको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ४०.०९ प्रतिशत घटेको छ भने कुमारी बैंकको खुद नाफा ३१.९८ प्रतिशत घटेको छ।