एलओडी क्लब डिजे म्यागको विश्व टप १०० मा ४४औं स्थानमा

काठमाडौँ । काठमाडौंको ठमेलस्थित एलओडी (लड अफ द ड्रिंक्स) क्लब बेलायतको डिजे म्यागद्वारा सार्वजनिक सन् २०२५ का लागि विश्वकै १०० उत्कृष्ट क्लबमध्ये ४४औं स्थानमा पर्ने सफलता हासिल गरेको छ। एलओडी क्लबका निर्देशक भुपेन कुँवरका अनुसार विश्वभरका पाँच सय क्लबबीच प्रतिस्पर्धा हुँदा एलओडीको चयन हुनु नेपालका लागि गर्वको विषय हो।

क्लबले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भएको र यसले रात्रिकालीन जीवनप्रति विदेशी पर्यटकको आकर्षण बढाउने विश्वास उनले व्यक्त गरे। टप १०० मा पर्नु मनोरञ्जनका लागि नेपाल आउने पर्यटकको संख्यामा वृद्धि गराउने र पर्यटन उद्योगलाई थप उकास्ने अवसर भएको कुँवरको भनाइ छ। ४४औं स्थानमा पर्नु क्लबका लागि गौरवसँगै अबको लागि थप चुनौती पनि भएको भन्दै क्लबलाई अझ आकर्षक बनाउँदै लैजाने योजना रहेको उनले बताए।