
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा श्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देश तथा विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न, उत्पादन वृद्धि, रोजगारी सिर्जना, मुनाफा आर्जन तथा कर तिर्न आह्वान गरे।
लगानीकर्तालाई आकर्षित गर्न सरकारले विभिन्न अध्यादेशमार्फत लगानीमैत्री वातावरण निर्माण गरेको उल्लेख गर्दै ती अध्यादेशहरू हाल कानूनमा परिणत भइसकेको र आवश्यक नियमावली, निर्देशिका तथा मापदण्डहरू तयार भइसकेको जानकारी दिए। पौडेलले सरकारले छिट्टै ती दस्तावेजहरू मन्त्रिपरिषद्बाट पारित गर्ने तयारीमा रहेको र नेपालमा लगानीको प्रशस्त सम्भावना रहेको समेत बताए।