
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आज चैत्र २५ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले १००० रुपैयाँ अंकित मूल्य कायम भएका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।
जस मध्ये ३० लाख कित्ता अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्री गरिने छ। २० लाख कित्ता अर्थात् २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्र मध्ये १ लाख कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।
यस ऋणपत्रमा सर्वसाधारणले छिटोमा चैत्र २८ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा २०८२ वैशाख ८ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम २५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । १० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७ प्रतिशत ब्याज प्रदान गर्ने छ।