मन्त्रिपरिषद बैठक आज दिउँसो ३ बजे, नयाँ गभर्नर नियुक्तिको सम्भावना

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषदको बैठक बस्ने तयारी छ। यो बैठक नियमित प्रकृतिको भए पनि महत्वपूर्ण निर्णय हुन सक्ने सम्भावना रहेको छ।

बैठकमा नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकका लागि नयाँ गभर्नर नियुक्तिको एजेन्डा समावेश हुने अपेक्षा गरिएको छ। पूर्व गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल गत शुक्रबार सकिएसँगै चैत २४ गतेदेखि गभर्नरको पद रिक्त भएको हो।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित गभर्नर सिफारिस समितिले आज बिहान बैठक बसेर सम्भावित उम्मेदवारहरुको सिफारिस गर्ने तयारी गरेको छ। सिफारिसपछि दिउँसो बस्ने मन्त्रिपरिषद बैठकबाट नै गभर्नर नियुक्ति हुने उच्च सम्भावना देखिएको छ।