रामनवमी आज श्रद्धा, भक्तिपूर्वक मनाइँदै, रामराज्यको आदर्शको स्मरण

काठमाडौँ   चैत्र शुक्ल नवमीका दिन आज आइतबार रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याका सुपुत्रका रूपमा भगवान् श्रीरामको जन्म यिनै दिन पुनर्वसु नक्षत्रमा भएको हो। विष्णुको सातौँ अवतार श्रीरामको जन्म बेला चन्द्रमा र वृहस्पति कर्कट लग्नमा रहनुका साथै पाँच दुर्लभ ग्रहहरूको योग परेको थियो।

वासन्तीय नवरात्रको नवमी तिथिमा जन्मिएका रामले राक्षसी प्रवृत्तिको अन्त्य गरी धर्म र मर्यादामा आधारित रामराज्य स्थापना गरेका थिए। रामनवमीको अवसरमा जनकपुर, अयोध्यालगायतका ठाउँमा रामलीला, पूजापाठ, भजन-कीर्तन र व्रतको विशेष परम्परा रहेको छ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार रामनवमी पर्वले मर्यादित, अनुशासित र नियन्त्रित राज्यको कल्पनालाई जीवित राख्दछ। गाग्र्यतन्त्र, व्रतार्क र अन्य धार्मिक ग्रन्थहरूमा चैत्र शुक्ल नवमीमा रामचन्द्रको पूजा, जप, ध्यान र उपवास गरी मनले चिताएको काम सफल हुने उल्लेख गरिएको छ।

आजको दिन राममन्दिरहरूमा विशेष पूजा आराधना, रामायण पाठ तथा रातभर भजनकीर्तनको आयोजना गरिन्छ। भगवान् रामले सत्य, धर्म र कर्तव्यको पालन गर्दै मानव जातिलाई आदर्श जीवन बाँच्न प्रेरणा दिएको स्मरणमा रामनवमी पर्व मनाइने गरिएको हो।