प्रधानमन्त्री ओली आज बिमस्टेक शिखर सम्मेलनमा सम्बोधन गर्ने, भारतीय समकक्षी मोदीसँग दुईपक्षीय भेटवार्ता हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्। सम्मेलनमा सदस्य मुलुकका सरकार प्रमुखहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गरिनेछ। सम्मेलन आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कार्यसूचीहरू प्रस्तुत गरिने छन्। त्यसपछि बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्रीहरूबाट सम्बोधन हुने कार्यक्रम छ।कार्यसूचीहरू पारित भएपछि थाइल्याण्डका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने तय भएको छ। सम्पूर्ण कार्यक्रम बैङ्ककस्थित होटेल साड्ग्रिलामा हुनेछन्। थाइल्याण्डको पहिलो औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली बिमस्टेक सम्मेलनमा सहभागी हुन पुगेका हुन्। सम्मेलन सकिएपछि आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा समेत उनले सहभागिता जनाउनेछन्।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायतको सहभागिता रहेको छ