एमएडब्ल्यूमा छापा: दिपल, सेरेस, र नामी ईभीको बिक्री रोक्का

काठमाडौँ  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय सवारी (ईभी) आयातकर्ता कम्पनी एमएडब्ल्यू वृद्धि मोटर्समा छापा हानेको छ। विभागका अनुसार कम्पनीले ९९ किलोवाट क्षमताको मोटर पावरको आधिकारिक कागजात र खुद्रा मूल्यसूची उपलब्ध नगराएको भन्दै अनुगमन गरिएको हो। कम्पनीलाई चैत २० गते पत्र पठाउँदै बिक्री वितरण रोक्का गरिएको र आवश्यक कागजात पेश गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

एमएडब्ल्यू वृद्धि मोटर्स (काठमाडौं–११) र एमएडब्ल्यू वृद्धि अटोकर्प प्रा.लि. (काठमाडौं–११) लाई समेत सोही निर्देशन दिइएको छ। विभागका महानिर्देशक कुमार दाहालले पटक–पटक मूल्य सूची उपलब्ध गराउन आग्रह गर्दा पनि कम्पनीले अटेर गरेकाले बिक्री रोक्नु परेको बताएका छन्। एमएडब्ल्यू वृद्धिले नेपालमा दिपल, सेरेस र नामी ब्रान्डका ईभी गाडी आयात तथा बिक्री गर्दै आएको छ।