
काठमाडौँ । २२ मार्चमा विश्वभर ‘पानी दिवस’ विविध कार्यक्रमसहित मनाइँदै छ। यस वर्षको नारा ‘हिमनदी संरक्षण’ राखिएको छ, जसले जलवायु परिवर्तनका कारण सुक्दै गएका हिमनदीको गम्भीर असरबारे सचेतना जगाउने लक्ष्य लिएको छ।
बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन र अत्यधिक पानीको उपयोगका कारण पानी सङ्कट विश्वव्यापी समस्या बनेको छ। संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९३ देखि मनाइँदै आएको यो दिवसले सुरक्षित तथा स्वच्छ पानीको व्यवस्थापनमा जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
नेपाल जस्तो जलस्रोतमा धनी मुलुकमा समेत उचित व्यवस्थापनको अभावमा नागरिकले स्वच्छ पानी पाउन सकिरहेका छैनन्। हिमालमुखी नदीहरूको बहाव घट्दै जाँदा तथा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएपछि पानीको संकट झनै चर्किएको छ। अन्तर्राष्ट्रिय तथ्यांकअनुसार पृथ्वीको कुल पानीमध्ये मात्र २.५ प्रतिशत पिउनयोग्य छ।
नेपालमा प्रतिव्यक्ति कुल जलस्रोत उपभोग क्षमता तीन हजार ६०० घनमिटर भए पनि हाल उपभोग दर प्रतिव्यक्ति मात्र ३९३.५ घनमिटर रहेको छ। यस सन्दर्भमा, जलस्रोतको उचित उपयोग, संरक्षण, पुनः भरण तथा नीतिगत व्यवस्थापनलाई बल दिने गरी सरकारले साताव्यापी कार्यक्रमसमेत आयोजना गरिरहेको छ।