
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय उत्पादनलाई प्रवर्द्धन गर्न उद्योग व्यवसायीलाई आग्रह गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित उद्योग व्यवसायी महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायको अवस्था पूर्ण रूपमा राम्रो नभए पनि सुधारोन्मुख रहेको बताए। उनले सरकार उद्योग व्यवसायका लागि नीतिगत सुधार ल्याइरहेको उल्लेख गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए।
उनले भने, "हामीले आफ्ना आवश्यक वस्तुहरू आफैं उत्पादन गरेर आत्मनिर्भर बन्नुपर्छ। धागो, कपडा, जुत्ता, मोजा, स्तरीय साबुन, दन्त मञ्जनलगायतका वस्तु स्वदेशमै उत्पादन गर्न आवश्यक छ। बिहान उठ्नेबित्तिकै आफ्नै देशमा निर्मित ब्रस र मञ्जन प्रयोग गर्न पाए कस्तो राम्रो हुन्थ्यो!" प्रधानमन्त्री ओलीले नेपालीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने बानी बसाल्नुपर्नेमा पनि जोड दिए।