पेट्रोलियम पदार्थको खपत वृद्धि, सरकारलाई साढे ३ अर्बको लाभ

काठमाडौं । चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपत वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको पहिलो आठ महिनामा डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको खपत बढेको देखिएको छ। गत वर्षको फागुनको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको खपत औसतमा ८.४२ प्रतिशतले बढेको छ।

मट्टीतेलको खपत सबैभन्दा धेरै १६.४८ प्रतिशतले वृद्धि भएको छ भने पेट्रोलको खपत ८.८४ प्रतिशतले बढेर ४ लाख ८९ हजार ८४२ किलोलिटर पुगेको छ । खाना पकाउने एलपी ग्यासको आयात ४.२८ प्रतिशतले वृद्धि भई ३६ करोड २० लाख ९५ हजार किलो पुगेको छ डिजेलको खपत ३.३५ प्रतिशतले बढ्दा हवाई इन्धनको खपत ९.१६ प्रतिशतले बढेको छ।

नेपाल आयल निगमका अनुसार आर्थिक गतिविधि क्रमशः चलायमान हुन थालेकाले इन्धनको खपत बढेको हो । निर्माण उद्योगमा वृद्धि, बिजुली आपूर्तिमा समस्या, पर्यटन व्यवसायको चहलपहल तथा होटल–रेष्टुरेन्टको पूर्ण क्षमतामा सञ्चालनले इन्धनको माग बढाएको छ । यद्यपि, पेट्रोलियम पदार्थको आयात बढे पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले विदेशिने रकम ४.२३ प्रतिशतले घटेको छ । चालु वर्षको पहिलो आठ महिनामा इन्धन खरिदका लागि १ खर्ब ७६ अर्ब १३ करोड रुपैयाँ विदेशिएको छ, जुन गत वर्षको तुलनामा ७ अर्ब ७८ करोड रुपैयाँ कम हो।

आयात वृद्धिसँगै सरकारले राजस्व संकलनमा पनि वृद्धि गरेको छ । गत वर्षको तुलनामा चालु वर्षमा ३ अर्ब ६१ करोड रुपैयाँ बढी राजस्व संकलन भई कुल ७२ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। डिजेल आयातबाट ३४ अर्ब ७८ करोड, पेट्रोलबाट २७ अर्ब ८१ करोड, हवाई इन्धनबाट १ अर्ब ९८ करोड, तथा एलपी ग्यासबाट ७ अर्ब ६४ करोड राजस्व संकलन भएको छ।