
काठमाडौँ।आर्थिक विकास तथा लगानी विस्तारसँग सम्बन्धित विभिन्न विधेयकहरू प्रतिनिधिसभामा पारित भएका छन्। बिहीबार मात्र प्रतिनिधिसभाले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ तथा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित गरेको हो। सरकारका अनुसार यी विधेयकहरूले मुलुकको अर्थतन्त्रलाई थप लयमा ल्याउने र लगानीको वातावरण सुधार गर्ने विश्वास गरिएको छ। निजीकरण ऐन, २०५० लाई समयानुकूल बनाउँदै सरकारको लगानी व्यवस्थापन र प्राथमिकता निर्धारणलाई थप स्पष्ट पार्ने प्रयास गरिएको छ।
प्रतिनिधिसभाबाट पारित भइसकेपछि विधेयकहरू अब राष्ट्रियसभामा पेस गरिनेछन्। शुक्रबारको बैठकमा यी विधेयकहरू टेबुल गरिने कार्यसूची तय भएको छ। छलफलका क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कमजोर अवस्थाका उद्योगहरू सुधार गर्न निजीकरणलाई एकमात्र उपाय नमान्नुपर्ने धारणा व्यक्त गरे। यस्तै, प्रतिपक्षी दलका सांसदहरूले यी विधेयकहरूले देशको अर्थतन्त्र, विकास, सुशासन र सामाजिक न्यायलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसक्ने टिप्पणी गरेका थिए।