व्यवसाय दर्ता र कर प्रणाली सुधार्न प्रविधिको प्रभावकारी प्रयोग आवश्यक: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले व्यवसाय दर्ता, नविकरण तथा राजस्व बुझाउने प्रक्रियामा प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको बताएका छन्। उद्योग मन्त्री दामोदर भण्डारीलाई आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत गर्ने क्रममा उनले डिजिटल प्रणालीमार्फत व्यवसाय सञ्चालनलाई सहज बनाउनुपर्ने बताए।

महासंघले नागरिक एपमा ‘बिजनेस आइकन’ राखी सम्पूर्ण व्यवसायिक सेवा प्रवाह गर्नुपर्ने, विदेशी लगानी आकर्षित गर्न ‘नेपालमा लगानी अभियान’ सञ्चालन गर्नुपर्ने, तथा बैंकिङ प्रणाली सुधारका लागि चालु पूँजी कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिएको छ। साथै, नेपाली कृषिजन्य उत्पादन र पानी निर्यातका लागि नीति ल्याउनुपर्ने, उद्योगमा लोडसेडिङ रोक्नुपर्ने, तथा भारतीय सीमावर्ती क्षेत्रका होटल तथा शिक्षण संस्थामा लगानी आकर्षणका लागि विशेष सुविधा दिनुपर्ने महासंघको माग छ।

उत्पादनमूलक उद्योगमा कर घटाउने, आयकर दर पुनरावलोकन गर्ने, र स्वदेशी उद्योग प्रवर्द्धनका लागि स्पष्ट कर नीति आवश्यक रहेको पनि महासंघले उल्लेख गरेको छ। अध्यक्ष ढकालले नीतिगत स्थिरता कायम गर्दै व्यवसायिक वातावरण सुधार गर्न सरकारसँग आग्रह गरेका छन्।