भोलि ७ गते देखि अन्तिम पन्ध्र मिनेटको कारोबारका आधारमा शेयर मूल्य निर्धारण हुने

काठमाडौं । अन्तिम १५ मिनेटको कारोबार समयसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मान्ने व्यवस्था बिहीवारदेखि लागू हुने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को चैत ६ गते बसेको सञ्चालक समिति बैठकले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को चौथो पटक संशोधित उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको हो । यस ब्यवस्थामा अन्तिम कारोबार समय २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मान्ने व्यवस्था लागू गर्न लागिएको छ ।

यसअघि कुनै पनि कम्पनीको अन्तिममा भएको कारोबार मूल्यलाई अन्तिम मूल्य मानिँदै आइएकोमा अब भने पछिल्लो १५ मिनेटमा भएको कारोबार मूल्य र कित्तालाई आधार मानेर भारित औसत मूल्य गणना गरिने भएको छ ।

नेप्सेले संशोधन गरेको उक्त व्यवस्था नेपाल धितोपत्र बोर्डले फागुन १८ गते स्वीकृत गरेको थियो । नेप्सेले अन्तिम कारोबार समयसमेत २ः४५ देखि ३ बजेसम्म कायम हुने गरी विनियमावली संशोधन गरेको हो ।

नेप्सेले मूल विनियमावलीको विनियम ११ को उपविनियम (१) को खण्ड (ग) हटाएको छ । यो व्यवस्था हालसम्म कार्यान्वयनमा नआएको र व्यवहारिक समेत नभएको भन्दै हटाएको जानकारी नेप्सेले दिएको हो । उक्त खण्डमा अन्तिम कारोबार समय ३ बजेदेखि ३ बजेर ५ मिनेटसम्म रहेको थियो ।

धितोपत्र कारोबार सञ्चालन विनियमावलीको दफा ११ मा कारोबार सञ्चालनसम्बन्धी व्यवस्था रहेको छ । बिहान १०:३० देखि ११:०० बजेसम्म प्रारम्भिक कारोबार हुने, मध्याह्न ११:०० देखि ३:०० बजेसम्म बोलकबोल र निरन्तर कारोवार हुने तथा अपराह्न ३ः०० देखि ३:०५ बजेसम्म अन्तिम कारोबार हुने व्यवस्था यसअघि थियो ।