औद्योगिक प्रदर्शनीसहित महासंघको अधिवेशन चैत ८-९ मा, प्रधानमन्त्री ओली प्रमुख अतिथि

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आउँदो चैत ८ र ९ गते तेस्रो राष्ट्रिय महाधिवेशन गर्दैछ, जससँगै औद्योगिक प्रदर्शनी पनि आयोजना गरिने भएको छ। 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। लघु, घरेलु, साना, मझौला र ठूला उद्योगबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन गर्न प्रदर्शनी आयोजना गरिएको हो, जसले आर्थिक मन्दीका कारण खस्कँदो उद्योगी व्यवसायीहरूको मनोबल उकास्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका किसानदेखि ठूला व्यवसायीले उत्पादन गरेका सामग्री समेटिनेछन्। महासंघले करिब १०० स्टल राख्ने तयारी गरेको छ, जहाँ कर्णाली क्षेत्रका जडीबुटी जस्तै जिम्बु, यार्चागुम्बा, सिलाजितदेखि पूर्वी नेपालको छुर्पी, अलैँची, चिया र कफी जस्ता स्थानीय उत्पादनहरू प्रदर्शन गरिनेछन्। प्रदर्शनीले उद्योगी व्यवसायीहरूलाई वस्तु उत्पादक र खरिदकर्ताबीच प्रत्यक्ष सम्पर्क स्थापना गराउने अवसर प्रदान गर्ने महासंघका पदाधिकारीहरूले जनाएका छन्।