दुवै सदनको बैठक आज, यी हुन् कार्यसूची

काठमाडौँ   संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज  बुधबार  बस्ने भएको छ। प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ। प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन्।

त्यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ तथा ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै, राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।

राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्। सभामा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराइनेछ। सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह तथा सहकारी सम्बन्धी ऐनहरू संशोधन गर्नेसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित टेबुल गरिने कार्यसूची रहेको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् भने सोही विधेयक पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।