
काठमाडौं । नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नेपाल प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो। अन्य प्रतिस्पर्धी एआईजी सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै वरिष्ठता क्रमअनुसार थापा प्रहरी प्रमुख बनेका हुन्। उनी २०७९ चैत ६ मा एआईजीमा बढुवा भएका थिए, जबकि गिरी र तामाङ १८ दिनपछि मात्र अर्थात् २०७९ चैत २४ मा बढुवा भएका थिए।
यसअघि नेपाल प्रहरीको नेतृत्व सम्हालेका आईजीपी वसन्त बहादुर कुँवर सोमबार अनिवार्य अवकाशमा गएपछि सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो। गृह मन्त्रालयले कुँवरलाई औपचारिकरूपमा बिदाई गरिसकेको छ। आईजीपी कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिबहादुर गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि आजै बिदाई भएका छन्। नव नियुक्त आईजीपी थापाले आगामी ६ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन्।