क्रेस्ट माइक्रो लाइफको आईपीओ भोलि बाँडफाँड हुने

काठमाडौँ  क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ भोलि मंगलबार, चैत ५ गते, एनआइएमबि एस क्यापिटलको कार्यालयमा विहान साढे ८ बजे बाँडफाँड हुने भएको छ। उक्त आईपीओमा २० लाख ४८ हजार ५३८ जना आवेदकले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका छन्।

कम्पनीले फागुन २२ गतेदेखि आईपीओ विक्री गरेको थियो र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा शेयर बाँडफाँड गरिसकेको छ। मागभन्दा बढी आवेदन परेकाले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ, जसमा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन्।

कम्पनीले ७५ करोड रुपैयाँको जारी पुँजीको ३० प्रतिशतले २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो, जसमा १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ६७ हजार ५०० कित्ता कर्मचारीका लागि, र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ। अब दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ।