
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले १० आवेदकमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको छ। सर्टलिस्टमा चूडामणि चापागाइँ, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका छन् भने युवराज दाहाल, प्रवीण अधिकारी, बिमलकुमार तिवारी, कृष्णबहादुर कार्की र मुकन्दराज जोशी दौडबाट बाहिरिएका छन्। समितिले सर्टलिस्ट भएका उम्मेदवारलाई चैत १२ गते कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ, जसका लागि उम्मेदवारहरूले नागरिकता, शैक्षिक योग्यता र कार्यानुभव प्रमाणित गर्ने सक्कल कागजात ल्याउनुपर्नेछ। अन्तर्वार्तापछि ५ जनामध्ये ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरिनेछ र तिनैमध्ये एक जनालाई सीईओमा नियुक्त गरिनेछ। खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न लागिएको नेप्सेमा निवर्तमान सीईओ कार्कीको कार्यकाल माघ २५ गते सकिएको थियो, भने हाल कामु सीईओको जिम्मेवारी निरञ्जन फुयाँललाई दिइएको छ।