बिमा प्राधिकरणको सञ्चालकमा राधा पोखरेल चयन

काठमाडौं। नेपाल बिमा प्राधिकरणको महिला सञ्चालक राधा पोखरेल नियुक्त भएकी छिन्। पुँजी बजार लगानीकर्ता संघ नेपालको अध्यक्षसमेत रहेकी पोखरेललाई अर्थमन्त्रीस्तरीय निर्णय गर्दै सरकारले सञ्चालकमा नियुक्त गरेको हो। 

पोखरेललाई शुक्रबारबाट लागू हुनेगरी चार वर्षका लागि महिला सञ्चालकमा नियुक्त दिइएको हो। बिमा ऐनअनुसार प्राधिकरण सञ्चालकमा अध्यक्ष र चार जना सञ्चालक हुनुपर्ने व्यवस्था छ। अर्थमन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सञ्चालकको रुपमा प्रतिनिधित्व गर्ने व्यवस्था ऐनमा छ। 

यस्तै दुई सदस्यमा जीवन बिमा र निर्जीवन बिमा क्षेत्रबाट १–१ जना गरी दुई जना सञ्चालक नियुक्त गर्नुपर्ने छ। ५ सदस्य रहने प्राधिकरणको बोर्डमा एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्नेमा खाली रहेकाले पोखरेलाई नियुक्त गरिएको हो। बिमा ऐन २०७९ मा महिला सञ्चालक हुनुपर्ने व्यवस्था रहेपनि उक्त व्यवस्था अहिलेसम्म पूर्ण कार्यान्वयमा आएको थिएन।