रंग र उमंगको पर्व : पहाडी जिल्लामा धूमधामका साथ होली मनाइँदै

काठमाडौँ  फागुन पूर्णिमाका अवसरमा आज पहाडी जिल्लाहरूमा होली पर्व धूमधामका साथ मनाइँदैछ भने भोलि तराईका जिल्लाहरूमा उल्लासका साथ यो पर्व मनाइने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक मानिने यो पर्व पारिवारिक एवं सामाजिक एकताको प्रतिकका रूपमा पनि मनाइन्छ। एकआपसमा रंग र अबिर लगाएर मनाइने यो पर्वको सुरुवात फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुरस्थित गद्दी बैठक अगाडि चीर गाडेर गरिन्छ। आज विधिपूर्वक उक्त चीरलाई ढाली बाजागाजासहित टुँडिखेलमा लगी जलाइन्छ। चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारका लागि उपयोगी हुने विश्वास गर्दै लुछाचुँडी गरेर लिने परम्परा छ भने चीरको खरानीको टीका लगाउँदा अनिष्ट टर्ने जनविश्वास छ।

धार्मिक मान्यता अनुसार त्रेता युगमा हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई मार्ने प्रयास गर्दा होलिका स्वयं भष्म भएकी थिइन्, जसको प्रतीकका रूपमा होली पर्व मनाइने गरिन्छ। त्यसैगरी, द्वापर युगमा श्रीकृष्णलाई मार्न पुतना नामकी राक्षसनी पठाइएकी थिइन्, जसलाई व्रजवासिले दहन गरी फागु महोत्सव मनाउने परम्परा बसेको मानिन्छ। स्वास्थ्यका दृष्टिले पनि होली पर्वको विशेष महत्त्व छ, किनकि राम्रो गुणस्तरका रंग तथा अबिरले छालाका रोग निवारण गर्न मद्दत गर्छन् भने बालिएको चीरको धुवाँले शीतकालमा फैलने विभिन्न रोगका कीटाणु नष्ट गर्छ। परम्परादेखि सरकारले यो अवसरमा सार्वजनिक बिदा दिने गरेको छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने चलन छ।