नेपालबाट उच्च शिक्षाका लागि बाहिरियो सवा ६४ अर्ब रुपैयाँ

काठमाडौं। चालू आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड बराबर पुगेको छ।

सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव ६ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड रहेको हो। बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय ६६ अर्ब ६४ करोड थियो। सो अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब ३८ करोडले घाटामा थियो।