नेप्सेमा गिरावट कायम, कारोबार रकममा सामान्य वृद्धि

काठमाडौं ।   मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो ६ दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ३२.२१ अंक घटेर २७१९.२० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ८ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०३ स्टकको ९२ हजार ३१ पटकको कारोबारमा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ५५ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन महालक्ष्मी विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ४० रुपैयाँ ५० पैसा बढेर ४४६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ६.६९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड ६५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ५३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने महालक्ष्मी विकास बैंकको ४३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।