एनआईसी एशिया क्यापिटलले डायस्पोरा खाता र अफर फर सेल प्लेटफर्म सार्वजनिक

काठमाडौं । एनआईसी एशिया क्यापिटलले गैर-आवासीय नेपाली र नेपाल बसोबास गर्ने नेपाली लगानीकर्ताहरूलाई लक्षित गरी दुई नयाँ सेवाहरू सार्वजनिक गरेको छ। कम्पनीले विदेशमा रहेका नेपाली उद्यमीहरूलाई नेपालमा व्यवसाय स्थापना र विस्तार गर्न सहयोग पुर्‍याउने उद्देश्यले विशेष डायस्पोरा खाता सञ्चालनमा ल्याएको छ। यस सेवाअन्तर्गत, व्यवसाय दर्ता, कम्पनी मूल्याङ्कन, कानुनी प्रक्रिया तथा लगानी रकम संकलनमा आवश्यक परामर्श तथा सेवा उपलब्ध गराइनेछ। क्यापिटलले आफ्नो मर्चेण्ट बैंकिङ सेवा विस्तार गर्दै अफर फर सेल प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ, जसले धितोपत्र बजारमा सूचीकृत तथा नसूचीकृत कम्पनीहरूको संस्थापक शेयर खरिद-बिक्रीलाई सहज बनाउनेछ।

यी सेवाहरूले विदेशी नेपालीहरूलाई नेपालको व्यवसायिक वातावरणमा जोड्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। डायस्पोरा खाताले विदेशमा रहेका नेपालीहरूको पूँजीलाई नेपालको आर्थिक वृद्धिमा उपयोग गर्ने वातावरण सिर्जना गर्नेछ भने अफर फर सेल प्लेटफर्मले शेयर खरिद-बिक्री प्रक्रियालाई डिजिटल माध्यमबाट सुरक्षित र पारदर्शी बनाउनेछ। एनआईसी एशिया क्यापिटलले लगानीकर्ताहरूलाई सम्पूर्ण वित्तीय तथा कानुनी प्रक्रियामा सहायता गर्दै नेपालको अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।