एनआइसी एशिया बैंकद्वारा स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह

काठमाडौं । एनआइसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर अध्यावधिक गर्न आग्रह गरेको छ। बैंकका अनुसार, आयकर ऐन २०५८ अनुरूप करकट्टीको विवरण नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा समावेश गर्न आवश्यक भएकाले ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमार्फत वा कुनै पनि शाखामा गई प्यान अपडेट गर्न सक्नेछन्। निक्षेपकर्ताको ब्याजभुक्तानीमा करकट्टीको विवरण इ–टिडिएस प्रणालीमा दर्ता गर्न प्यान अत्यावश्यक हुने भएकाले, समयमै अद्यावधिक गरे करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

साथै, प्यान अद्यावधिक नगरिएमा कर दाखिला वा समायोजनका विषयमा बैंक जिम्मेवार नहुने जानकारी दिँदै, यसअघि प्यान उपलब्ध गराएका तर करकट्टी विवरण समावेश नभएका ग्राहकहरूलाई नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ। बैंकले हाल देशभर ३६० शाखा, ६७० एटिएम, ११८ विस्तारित काउन्टर र ५१ शाखारहित बैंकिङ सेवा केन्द्र सञ्चालन गरिरहेको छ।