
काठमाडौं । नेपालका लागि युगाण्डाका नवनियुक्त राजदूत जोयस काकुरामात्सु किकाफुन्डाको उपस्थितिमा काठमाडौंमा द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल सम्पन्न भएको छ।
एसियन इन्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) को आयोजनामा सम्पन्न उक्त छलफलमा युगाण्डाका गैरआवसीय नवनियुक्त राजदूत प्रोफेसर किकाफुन्डाले नेपाल र युगाण्डाबीच धेरै समानता रहेको बताउँदै नेपाली व्यवसायीहरूलाई युगाण्डामा लगानी गर्न आग्रह गरिन्।
उनले नेपाल र युगाण्डाको प्रति व्यक्ति आय तथा जनसंख्या लगभग समान रहेको जनाउँदै, विश्व मञ्चमा पनि दुवै देशले समान उपस्थिति जनाउने गरेको बताइन्। साथै, नेपाल आगामी वर्ष अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने तयारीमा रहेको र युगाण्डा पनि गत वर्ष स्तरोन्नतिको लागि योग्य भइसकेको जानकारी दिइन्।
किकाफुन्डाले युगाण्डामा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै, त्यहाँ उद्योग खोल्न निःशुल्क जमिन उपलब्ध गराइने, आयकरमा छुट दिइने तथा अन्य विविध सुविधाहरू रहेको जानकारी गराइन्। साथै, युगाण्डाको कफी विश्वभर लोकप्रिय रहेको बताउँदै, नेपालमा पनि कफी प्रति चासो देख्दा खुशी लागेको उनले बताइन्।
नेपालका लागि युगाण्डाका प्रस्तावित कन्सुलर जनरल तथा व्यवसायी विनय उपाध्यायले नेपाल र युगाण्डाबीच जनस्तरमा सम्बन्ध सुदृढ हुँदै गएको उल्लेख गरे। साथै, आगामी दिनमा दुई देशबीच व्यापार र लगानी प्रवर्द्धनमा अझ बढी जोड दिने बताए।
उक्त छलफलमा करिब दुई दर्जनभन्दा बढी उद्योगी तथा व्यवसायीहरूले युगाण्डामा लगानीको अवसरबारे राजदूतसँग अन्तरक्रिया गरेका थिए। निर्माण व्यवसायी, पर्यटन व्यवसायी तथा उद्योगीहरूले युगाण्डाले लगानीकर्तालाई प्रदान गर्ने प्रोत्साहनको खुलेर प्रशंसा गरेका थिए।