
काठमाडौँ । एक दशकपछि बीएन घर्ती पुनः बैंकिङ क्षेत्रमा फर्किएका छन्, जहाँ उनलाई गैरआवासीय नेपाली (एनआरएन) तथा नेपाली व्यवसायीहरूको लगानी रहेको बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरिएको छ। बेष्ट फाइनान्सको सञ्चालक समितिले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो। ११ वर्षअघि तत्कालिन किष्ट बैंकमा कामू सीईओ रहेका घर्ती पछिल्लो समय बैंकिङ परामर्शमा सक्रिय थिए। उनले लेखेको ‘बैंकिङ अनुशासन’ पुस्तकले यस वर्षको सामना बैंकिङ पुरस्कार प्राप्त गरेको थियो।
पुस्तकमा विकास बैंक तथा फाइनान्स कम्पनी चलाउन गाह्रो रहेको निष्कर्ष निकालेका घर्तीलाई समस्याग्रस्तबाट माथि उठेको बेष्ट फाइनान्स सञ्चालनको जिम्मेवारी दिइएको छ। उनको परामर्शमा नै समस्याग्रस्त घोषणा भएको बेष्ट फाइनान्स सुधारिएको थियो भने नेपाल फाइनान्स र सम्बृद्धि फाइनान्सलाई समेत उनले परामर्शदाताको रूपमा पुनरुत्थान गर्न भूमिका खेलेका थिए। व्यवस्थापनमा एमबीए गरेका घर्ती हाल पीएचडी गर्दै छन्।