
काठमाडौँ । सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल सरकार, सरोकारवाला निकायहरू तथा विभिन्न महिला संगठनहरूले विशेष कार्यक्रमको आयोजना गरेका छन्, जसअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोह आयोजना गरेको छ। राजनीतिक दलसम्बद्ध महिला संगठनहरूले पनि आ-आफ्ना कार्यक्रम तय गरेका छन्। यो दिवसले महिलाको प्रविधिमा पहुँच विस्तार, सशक्तिकरण अभिवृद्धि, लैङ्गिक असमानता न्यूनीकरण तथा हिंसा निर्मूल गर्ने लक्ष्य राखेको छ। साथै, महिलालाई शिक्षित, आत्मनिर्भर बनाउने र उचित सम्मान प्रदान गर्ने उद्देश्यका साथ मनाइने यस दिवसले महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिलाई पनि स्मरण गर्दछ।