
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाँच करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पूँजी तथा दश करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीहरूलाई बोर्डमा सूचिकृत गर्नुपर्ने निर्णय भएको जानकारी गराएको छ। बोर्डले मनी लाउन्डरिङ्ग निवारण ऐन, २०६४ को प्रावधानअनुसार नेपाल सरकारले समन्वय समितिको सिफारिसमा यस्तो निर्णय गरेको हो। उक्त कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा सूचिकृत हुनका लागि आवश्यक कागजातहरू बुझाउनुपर्नेछ।
सूचिकरणका लागि आवश्यक पर्ने कागजातहरू:
नेपाल धितोपत्र बोर्डले सूचिकरणका लागि कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ:
- बोर्डमा सूचिकृत हुनका लागि निवेदन पत्र
- सञ्चालक समितिको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर, सेयरधनी विवरण)
- कम्पनीको अद्यावधिक प्रबन्धपत्र तथा नियमावली
- कम्पनीको अद्यावधिक दर्ता प्रमाणपत्र
- स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र
- कार्यकारी प्रमुखको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर)
- सञ्चालक समितिबाट बोर्डमा सूचिकरणसम्बन्धी निर्णयको प्रतिलिपि
- कम्पनीको सञ्चालक समितिबाट बोर्डमा सूचिकरणका लागि दिइएको अख्तियारी
- कम्पनीको वार्षिक कारोबार खुल्ने लेखापरीक्षित वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन
- कम्पनीको चुक्ता पूँजी खुल्ने कागजात तथा विवरण
सूचना कहिलेदेखि लागू हुन्छ?
नेपाल धितोपत्र बोर्डले २०७८ साल माघ २३ गते पहिलो पटक सूचना प्रकाशन गरेको छ। नेपाल राजपत्रको भाग ५, संख्या ४५ (मिति २०८१/०९/१८) मा प्रकाशित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचनाअनुसार बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरूलाई नियमन गर्नका लागि यो व्यवस्था लागू गरेको हो।