नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँड

काठमाडौं ।नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएमबि क्यापिटलले आज फागुन २३ गते शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओमा कुल १८ लाख १७ हजार १ सय ४८ जनाले आवेदन दिएका थिए। जस मध्ये कुल १८ लाख ६ हजार ७ सय ६२ जनाको आवेदन मात्र सदर भएको छ। माग भन्दा बढीको आवेदन परेकोले सदर आवेदकलाई समावेश गरि गोलाप्रथाबाट शेयर बाँडफाँड भएको छ। जसमा कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । आईपीओको नतिजा केही समयपछि हेर्न सकिने छ।

कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आम सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।  कम्पनीले यस अघि नै  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई पुस २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गरेको हो।

कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.१ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।