एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज फागुन २३ गते अन्तिम दिन रहेको छ।  बैंकले फागुन १८ गतेदेखि ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्री गरिने छ। १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्र मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

१० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७.५० प्रतिशत ब्याज प्रदान गर्ने छ।  नेपाल धितोपत्र बोर्डले माघ १५ गते कम्पनीलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।