नेपालको सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा

काठमाडौं   नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ। महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा रहेको नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि. मा आईएमई ग्रुपको २ अर्ब बढी लगानी छ।

२०७८ मा शिलान्यास भएको यो उद्योग २०८१ पुसदेखि उत्पादनमा आइसकेको छ। नेपालमा वार्षिक झन्डै १.५ लाख मेट्रिक टन कागज खपत हुने भए पनि उद्योग नहुँदा कागज आयात गर्नुपर्ने बाध्यता थियो। अब उद्योग सञ्चालनमा आएपछि पहिलो वर्षमै करिब ४०% कागज नेपालमै उत्पादन हुनेछ।

अध्यक्ष ढकालका अनुसार उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। उनले नेपालमा लगानीको वातावरण सकारात्मक बन्दै गएकाले निजी क्षेत्रले उत्पादनशील क्षेत्रमा अघि बढ्नुपर्ने बताए। उद्योगले स्थानीय कच्चापदार्थ प्रयोग गरी वातावरणमैत्री उत्पादन गर्ने दाबी गरेको छ।