
काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आज फागुन २२ गतेदेखि सामुहिक लगानी कोष योजनाको इकाई बिक्री खुला गरेको छ । क्यापिटलले एमबीएल म्युचुअल फण्ड अन्तर्गत रहने एमबीएल इक्विटी फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाई बिक्री खुला गरेको हो ।
बन्दमुखी प्रकृति रहेको उक्त योजनाको अवधि १२ वर्ष रहेको छ । यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ र प्रति इकाई १० रुपैयाँको दरले १२ करोड इकाई निष्काशन गरिएको छ। जस मध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रबर्दक माछापुच्छ्रे बैंकलाई, र १ प्रतिशत अर्थात् १२ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई छुट्याएर बाँकि रहेको १० करोड २० लाख इकाई आम सर्वसाधारणको लागि निष्काशन गरिएको छ।
यस निष्काशनमा लगानीकर्ताले छिटोमा फागुन २६ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत ७ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको लागि दिन सकिने छ।
नेपाल धितोपत्र बोर्डले माघ २० गते क्यापिटललाई एमबिएल इक्विटी फण्ड नामको बन्दमुखी म्युचुअल फण्ड निष्काशनको अनुमति दिएको थियो। यो माछापुच्छ्रे क्यापिटलको पहिलो म्युचुअल फण्ड हुने छ।