क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज फागुन २२ गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको हो।

यस निष्काशनमा सर्वसाधारणले फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गरेको हो ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त संस्था हो ।